रामपुर, पाल्पा ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले रामपुर अस्पताल रामपुर पाल्पाको सेवा प्रवाहको विषयमा सरोकारवला निकाय, अस्पतलमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुसंग छलफल तथा आवश्यक पृष्ठपोषण सहित अन्तरक्रिया गर्नु भएको छ।
अस्पतालको अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले रामपुर अस्पतालको शैया बढाउने भन्दा पनि विशेषज्ञ सहितको सेवा विस्तारमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताउनु भयो । ५० शैयाको अस्पतालमा हाल ३२ वटा वेड सञ्चालनमा रहेको भन्दै उहाँले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरेर विशेषज्ञ सहितको सेवा विस्तार गर्न लागि परेको बताउनुभयो ।
उहाँले ५० शैयाको अस्पतालको सेवा थप्ने विषयमा अघि जान सकिए पनि अस्पतालको व्यबस्थापन, उपकरण थप र कर्मचारीलाई तलब खुवाउने लगायतका विषय सम्बोधन गर्न नसक्ने अवस्था आएमा फेरी पनि गुनोसो बढ्न सक्ने उल्लेख गर्नु भयो । त्यसकारण अहिले भएको सेवालाई थप गर्दै स्तरीय सेवा दिदै सेवाका क्षेत्र फराकिलो बनाएर अगाडि जाँदा राम्रो हुने तर्क व्यक्त गर्नु भयो ।
मन्त्री सारुले सरकार परिवर्तनसँगै अस्पताल विकास समिति परिवर्तन हुनु दुर्भाग्य रहेको भन्दै रामपुर अस्पताल विकास समितिको विषयमा देखिएको समस्या सरकारवालासँग छलफल गरेर छिट्टै समाधान गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री सारुले स्वास्थ्यकर्मीलाई जनताको सेवक बनेर सेवा प्रवाह गर्न निर्देशन समेत दिनु भएको थियो ।
रामपुर अस्पतालमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । रामपुर अस्पतालको फरक इतिहास रहेको भन्दै अस्पताल विकास समितिको सन्दर्भमा देखिएको समस्यालाई तत्काल निकास दिनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले अस्पताल विकास समितिलाई राजनितिकरण गर्न नहुने बताउनुभयो । उहाँले राजनैतिक निुक्तका आधारमा गठन भएको समिति सरकार परिवर्तन संगै परिवर्तन हुने क्रमले अस्पताल सञ्चालनमा समस्या देखिएकाले अस्पताल विकास समितिलाई संस्थागत गर्नु आवश्यक रहेको बताउनुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दरबन्दी भएपनि चिकित्सकहरु राज्यले पठाएको स्थानमा नजाने समस्या रहेको भन्दै जहाँ दरबन्दी छ त्यहाँ पुग्नै पर्ने नीति लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिमित स्रोतका विच पनि स्वस्थ्यकर्मीहरुले दिएको योगदानको चर्चा गर्दै नगरपालिका सधैं अस्पतालको साथमा रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव वासुदेव उपाध्यायले विशेषज्ञ चिकित्सकहरु शहर केन्द्रित हुँदा समस्या भएको बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले अस्पतालको उत्थानमा स्थानीयको मुख्य जिम्मेवारी रहने बताउँनुभयो । साथै स्वास्थ्यकर्मीहरुलाई आफ्नो कर्तव्यमा प्रतिवद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा रामपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष रामप्रसाद ढकाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंगठनका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुले अस्पताल विकास समिति गठनमा राजनैतिक हस्तक्षेप गर्न नहुने, दरबन्दी अनुसारको स्वस्थ्यकर्मी खटाउनु पर्ने, अस्पतालको व्यवस्थापनको पक्षलाई थप व्यवस्थित बनाउनु र आवश्यक उपकरण खरिद तथा मर्मत सम्भार समय मै हुनु पर्ने सुझाव राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले ब्लडको जोहो गर्दै आएपनि म्याचिङ्गको समस्या भएको बताउनु भएको थियो । कार्यक्रममा रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। अमिर काफ्लेले अस्पतालको बर्तमान अवस्था र भावि योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको जनताको लागि स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस रामपुर अस्पतालले गत आर्थिक वर्षमा ७२ हजार भन्दा धेरै बिरामीलाई सेवा प्रदान गरेको थियो ।