लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मृगौला प्रत्यारोपण र मुटुको भल्व फेर्ने जस्ता सेवाको सुविधा जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाटै प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।
प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्ने निर्णय गर्दै सो सुविधा जिल्लाबाटै उपलब्ध गराउने निर्णय गरेको हो । यो संसोधनसंगै अव क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने सेवाको लागि प्रदेश स्वास्थ्य निर्देशनालयसम्म पुग्न नपर्ने भएको हो । सोही बैठकले लुम्बिनी प्रदेश अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० समेत संसोधन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री खेम बहादुर सारुले जानकारी गराउनु भयो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने सम्वन्धि कार्यविधि २०८१ र संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन तथा कार्यादेश २०८१ समेत स्वीकृत गरेको छ । सरकारले सार्वजनिक प्रशानसन तथा व्यवस्थापन, कुटनैतिक, सुरक्षा व्यवस्थापन, न्याय तथा कानुन, भौतिक पूर्वाधार तथा ईन्जिनियरिङ्ग, सामाजिक विकास लगायतका क्षेत्रहरुलाई आधार मानेर बिशेषज्ञताको सूची तयार पार्ने तथा प्रशासन, सुशासन र विकास व्यवस्थापन लगायतका काम गर्न विशेषज्ञताको प्रयोग गर्ने जनाइएको छ ।
यस्तै सुशासन प्रवर्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजना २०८१ स्वीकृत गरेको छ । नैतिकता तथा सदाचारिता प्रवर्धन, व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवा प्रवाह, वित्तिय सुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा र कार्यान्वयन, पारदर्शीता, सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व प्रवर्धन लगायतका बिषयलाई समेटेर तयार पारिएको पाँच बर्षे रणनीतिक योजना स्वीकृत गरेको हो।