देवीनगर, पाल्पा ।
बागमती प्रदेश प्रमुख माननीय दिपक प्रसाद देवकोटालाई जन्म थलो पूर्वखोला गाँउपालिका वडा नं–४, लेमधेममा एक समारोहका बीच स्वागत तथा सम्मान गरिएको छ ।

कामको सिलसिलामा गृहनगर आउनु भएका देवकोटालाई देवीनगर माथिल्लो लेमधेमका स्थानीयबासीहरुले एक समारोहका बिच स्वागत तथा सम्मान गरेका हुन । कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख माननीय देवकोटाले आफु बि.स.२०१५ सालमा यसै स्थानमा जन्मी हुर्केको र निम्न माध्यमिक तह सम्म देवीनगर स्थित मातृ भुमि माध्यमिक बिद्यालयमा र त्यस पछिको शिक्षा त्रिभूवन बहुमुखी क्याम्पस तानसेनमा पढेको स्मरण गर्नु भयो ।

देवकोटाले आफ्ना बुवा कपिल देवकोटा तत्कालिन समयमा एक प्रतिस्थित पण्डित तथा देवीनगर गाउँ पंचायतको प्रधानपञ्च रहेको भएता पनि आफु सानै उमेर देखि प्रगतिशील स्वभावको रहेकोले तत्कालिन सामन्ती प्रथाको बिरुद्धमा आवाज उठाउदा अनेकन अवसर तथा छदाखादाको जागिरबाट समेत हात धुनु परेको बताउनु भयो । जीवन दौडानमा भोगेका तिता मिठा भोगाईहरुको बारेमा बताउदै देवकोटाले अब आफुले आफ्नो जन्म स्थानलाई केही गर्न चाहेको र त्यसको लागि स्थानीय बासीबाट सहयोगको अपेक्षा गर्नु भयो ।

कार्यक्रममा पाल्पा क्षेत्र नं–१ संघिय सांसद माननीय नारयण प्रसाद आचार्यले देवीनगर लेमधेम जस्तो ग्रामीण तहमा जन्मेर आफ्नो त्याग र लगनसिलताले राज्यको प्रदेश प्रमुख जस्तो गरिमामय पदमा पुग्न सफल दिपक प्रसाद देवकोटा एक उदाहरणीय ब्यक्तित्व रहेको बताउनु भयो ।

त्यस्तै बागमती प्रदेश प्रमुख देवकोटाकी धर्मपत्नी रुकमिणी देवकोटा एक सफल उद्यमी समेत रहेको र उहाँको हाल धनगढीमा स्वचालित मेसिन सहितको होजेरी उद्योग संचालनमा रहेकोले त्यसको शाखा देवीनगरमा संचालन गरी स्थानीय महिलाहरुलाई रोजगारी सृजना गर्न आग्रह गर्नु भयो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै देवीनगरका पूर्व वडाध्यक्ष रिम प्रसाद श्रेष्ठले देवकोटा हाल अर्को प्रदेशको प्रमुख रहेता पनि लुम्बिनी प्रदेशका समकक्षीसंगको समन्वयमा यस स्थानको विकासमा सहयोग हुने अपेक्षा ब्यक्त गर्नु भयो । कार्यक्रम पूर्वखोला गाउँपालिका वडा नं–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता मेहर सिं थापाको अध्यक्षता, माथिल्लो लेमधेम टोल विकास संस्थाका अध्यक्ष ईन्द्र बहादुर रानाको स्वागत तथा स्थानीय नेतृ भगवती रानाको संचालनमा सम्पन्न भएको थियो ।
