पाल्पा, तानसेन ।
वाङमय प्रज्ञा प्रतिष्ठान पाल्पाको आयोजनामा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा उपप्राध्यापक डा. टंक पन्थले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै देवकोटा मानवतावादी, भौतिकवादी, प्रगतिवादी र मूलतः सामाजिक एवम् मानवीय विकृतिहरू माथि प्रहार गर्ने ब्यक्ति भएको बताउनुभयो ।

महाकवि देवकोटाका जीवनका रोचक प्रसंगहरू कोट्याउँदै प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालले देवकोटा नेपाली साहित्यका अतुलनीय, सर्वमान्य र विलक्षण प्रतिभाका धनी ब्यक्तित्व भएको बताउनु भयो । उहाँले देवकोटाको जीवन चाखलाग्दा घटनाहरूले भरिएको समेत उल्लेख गर्नु भयो।
कार्यक्रममा साहित्यकारहरू डा. टंक पन्थले देवकोटा सम्बन्धी कविता, डा. शंकर गैरेले गजल, कवि आर बि निश्चलले प्रदेशबाट फर्कन आह्वानसहितको गद्यकविता, प्रगतिशील लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले मुक्तकहरू, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मीले वीर तथा श्रृंगारिक रसका शीतहरू वाचन गर्नुभएको थियो ।

यस्तै साहित्यकारहरू धातानन्द शर्माले देवकोटाको अन्तिम कविता र लक्ष्मी माविको सम्झना कविता, गोम बिक्रमले चाडपर्व विशेष मुक्तक र लघुकथा, रोहित ज्ञवालीले गुलेली कविता, युवाकवि शंकर ढकालले संस्कृत भाषामा देशप्रेम कविता तथा धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, जनता मा. वि. का प्रधानाध्यापक हरि प्रसाद घिमिरे र राम ज्ञवालीले समेत कविता वाचन र प्रतिष्ठानका सचिव गणेश नेपालीले गजल प्रस्तुत गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष वश्यालको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गणेश ज्ञवालीको गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जनता माविका प्रधानाध्यापक हरि प्रसाद घिमिरे र शिक्षक राम प्रसाद ढकाल लगायत उपस्थित सबै साहित्यकारहरूले तिहार, नेपाल सम्बत् र छठ पर्वका उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत गर्नुभएको थियो ।