पाल्पा, तानसेन ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी स्वास्थ्य मन्त्रालयले एक सय दिनको अवधिमा सम्पादन गरेका मुख्य मुख्य उपलब्धिहरु पाल्पाको तानसेनमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गर्नु भएको छ ।
स्वास्थ्य मन्त्रालयले सम्पादन गरेका कामहरु मध्ये १९ बुँदे मुख्य उपलब्धीहरु सार्वजनिक गर्नु हुदैं मन्त्री सारुले नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न तथा सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय सफल भएको दावी गर्नु भयो ।

यस्तै एक सय दिनको अवधिमा नीतिगत एवं कानूनी सुधार, शासकीय सुधार तथा सुशासन प्रवर्धन, विकास कार्यको व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सूचना प्रविधिको विकास र प्रयोग, जनगुनासो व्यवस्थापन जस्ता विषयका क्षेत्रलाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गरेको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा संघीय सांसदहरु नारायण आचार्य , ठाकुर गैरे, प्रदेश सांसदहरु राजु श्रेष्ठ, इन्द्र गहतराज, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतले स्वास्थ्य मन्त्री सारुले छोटो समयमा गरेका उपलब्धिहरुको प्रशंसा गर्दै कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए ।

स्वास्थ्यमन्त्री सारुले १०० दिनमा गर्नु भएको कामहरु मध्ये मुख्य १९ उपलब्धिहरू :
१. लुम्बिनी प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुुटवलको बाह्र सय शैयाको बाह्र तले भवन २०८५ साल पुष सम्म निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकारका उप–प्रधान तथा अर्थमन्त्री माननीय विष्णु पौडेल एवं मुख्यमन्त्री चेतनारायण आचार्यबाट शिलान्यास भई कार्यप्रारम्भ गरिएको ।
२. प्रदेशका क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीहरुलाई प्रदेश सरकारले विशेष आर्थिक सुविधाको रुपमा प्रदान गर्ने सुविधाको प्रदेश स्वास्थ्य उपचार विषेश आर्थिक सुविधा निर्देशिका, २०७८ लाई परिमार्जन गरी विरामीहरुलाई प्रदेश राजधानीमा सिफारिश लिन आउने बाध्यताको अन्त्य गरी सेवाग्राहीको सहजताको लागि जिल्ला स्थित स्वास्थ्य कार्यलय मार्फत नै सिफारिस उपलब्ध हुने व्यवस्था मिलाइएको ।
३. लुम्बिनी प्रदेशमा उच्च रहेको महिला, बालबालिका तथा किशोरीहरुमा कुपोषणको अवस्थाको दिगो विकासको लक्ष्यलाई हासिल गर्नको लागि त्रिवर्षिय “महिला वालवालिका तथा किशोरीहरुका स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१” तयार गरिएको ।
४. कुष्ठरोग र हात्तिपाइलेका कारण अपाङ्गता भएका नागरिकहरुप्रतिको भेदभाव अन्त्य तथा जिविकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्वन्धी कार्यविधी, २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको ।
५. लुम्बिनी प्रदेश अन्तर्गतका सरकारी अस्पताल तथा प्रयोगशलाहरुमा गरिने रक्त परीक्षण, एक्स–रे तथा भिडियो एक्स–रेको सेवा शुल्कमा एकरुपता कायम गर्नका लागि प्रक्रिया अगाडि बढाईएको ।
६. अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रहेका मेडिकल औजार उपकरणहरुको मर्मत सम्भार, व्यवस्थापन तथा Inventory Management को लागि Biomedical Equipment Management Information System( BEMIS)लागू गरिएको ।
७. अस्पताल विकास समिति ९गठन तथा संचालन० नियमावली, २०८०, ९संशोधन २०८१० मन्त्रिपरिषदको निर्णयबाट पारित गरिएको ।
८. स्वास्थ्य बीमा नीति अनुसार औपचारिक क्षेत्रका कर्मचारीहरुलाई स्वास्थ्य बिमामा आवद्ध गराउने उद्देश्य अनुरुप लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र मातहतका निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ति व्यवास्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, १३ वटै अस्पताल, १२ वटा स्वास्थ्य कार्यालय र १३ वटा आयुर्वेद स्वास्थ्य संस्थाहरुमा कार्यरत २०६४ जना कर्मचारी र नीजका आश्रित परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमा गराई अभियानको रुपमा शुरुवात गरिएको ।
९.सेवाग्राहीलाई सरकारी अस्पतालबाट छिटो छरितो गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चितताको लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निजी क्लिनिक तथा अस्पतालहरुमा निजी अभ्यासको क्रममा सरकारी कार्यालयको नाम र पदको प्रयोग गर्ने अवस्थाको अन्त्य गर्ने कार्यलाई कार्यान्वयनमा ल्याईएको र निजी अभ्यासको लागि पूर्व स्वीकृती लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको ।
१०. कोभिड १९को कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग वापत प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउन प्रमाणित तथा भाग भई आएको दाङ र पाल्पा जिल्लाका परिवारलाई सहयोग रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
११. पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ ले निर्दिष्ट गरे अनुसार लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको ।
१२.प्रदेश राजधानीमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सुविधा सम्पन्न प्रादेशिक भालुवाङ अस्पताल, भालुवाङ सञ्चालनको लागि जनशक्ति पदपुर्ति गरि सेवा सञ्चालनको लागि प्रक्रिया अघि वढाइएको ।
१३. राष्ट्रिय दिवस तथा संविधान दिवस, २०८१ को अवसरमा प्रदेश भरिका सरकारी अस्पतालवाट विरामीहरुलाई निशुल्क इमर्जेन्सी टिकट र प्रयोयशाला सेवा उपलब्ध गराइएको साथै प्रदेश सभा परिसरमा आयोजित मूल समारोहमा निशुल्क स्क्रिनिङ प्रयोगशाला परिक्षण गरिएको र विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी सञ्चालन रक्त संकलन गरिएको ।
१४. मातृशिशु सम्वन्धी सुचांक न्यून रहेका जिल्लाहरुका सरोकारवालाहरु,अस्पताल, स्वास्थ्य कार्यालय, पेडियाट्रिक सोसाइटी, लगायत संघसंस्थाहरुसँग अन्तरक्रिया गरि सेवा सुदृढिकरणको लागि साझेदार संस्था युनिसेफ मार्फत अर्घाखाँची, कपिलवस्तु र रुपन्देही जिल्लाका अस्पतालहरुमा सेवा सुदृढिकरणको लागि सुनिश्चितता गरिएको ।
१५. अस्पतालहरुको स्तरोन्नती तथा गुणस्तरिय सेवा प्रवाह सुधारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रामपुर, पाल्पा, र वर्दिया अस्पतालका विभागिय प्रमुख, कर्मचारी र सरोकारवाला निकायहरुसंग अन्तरक्रिया तथा समन्वयात्मक बैठक र छलफल कार्यक्रम सम्पन्न गरिएको ।
१६. भिम अस्पताल भैरहवा, पृथ्वी चन्द्र अस्पताल नवलपरासी (व.सु.प.), आयुर्वेद अस्पताल कपिलवस्तुको भवन निर्माण कार्य सम्पन्न भएको ।
१७. विरामीको अत्याधिक चाप हुने अस्पतालहरूमा ई–टिकेटिङ, टोकन प्रणाली र वीमा काउन्टर सेवा थप गरिएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका विकृति रोक्न सरकारले कडाईका साथ अनुगमन गरेको छ ।
१८. भूगोलमा आधारित फरक खालका स्वास्थ्य समस्या जस्तै सिकलसेल एनिमिया बालेसिमियाको समस्या समाधान गर्न प्रदेश सरकारले विशेष ध्यान दिएको ।
१९. लुम्बिनी प्रदेशको स्वस्थ समाज निर्माण तथा स्वास्थ्य क्षेत्रको व्यवस्थापन, स्तरोन्नती, गुणस्तरीय स्वास्थ्य सेवामा जनताको सहज पहुँचको लागी ५५ बुँदे कार्ययोजना र १५ बुदें लमही घोषणा पत्र तयार गरी कार्यान्वयनको क्रममा रहेको छ ।