काठमाडौं । प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाहरुको अपांगता सहितका चार प्रमुख स्वास्थ्य समस्याको अनिवार्य स्क्रिनिङ हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालहरुमा यस्तो परीक्षण अनिवार्य गरिएको बताउनु भयो । जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगता सहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पताल सहितका प्रसुती र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै थाइरोइड, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबी र जण्डिससम्बन्धी परीक्षण हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताउनु भएकोमा सोही योजना अनुसार नै यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा नवजात शिशुमा अपांगता सम्बन्धी समस्या कम गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास गरिएको छ ।