पाल्पा, तानसेन ।
हाम्रो बल्डबैँक, हामी बनाउँछौँ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले सञ्चालन गरिरहेको ब्लड बैँक स्थापना अभियानमा हालसम्म ४५ लाख ७५ हजार रकम सङ्कलन भएको छ ।

शाखाका सभापति बाबुराम कार्कीका अनुसार ब्लड बैँक स्थापना अभियानमा संस्थामा आबद्ध रहेका एशस्कर सदस्यहरूबाट ६ लाख, विशिष्ट सदस्यहरूबाट २२ लाख, स्मृतिकोषबाट ७ लाख, विभिन्न सङ्घसंस्था र विद्यालयबाट ६ लाख ८० हजार र स्वदेश तथा विदेशका नेपाली नागरिकहरूबाट ३ लाख ९५ हजार सहयोग रकम प्राप्त भएको छ ।

यस्तै उक्त ब्लड बैँक स्थापनाका लागि पाल्पाका दुई नगरपालिकाले १०/१० लाख रुपियाँ र आठ वटा गाउँपालिकाले ५/५ लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विनोद भारतीले जानकारी गराउनु भयो । उहाँका अनुसार यो अभियान सफल बनाउन देशका विभिन्न शहरहरुमा बसोबास गर्ने पाल्पाली व्यक्तित्वहरुले समेत भेला, बैठक तथा छलफलहरु सञ्चालन गरेका छन् भने जिल्ला शाखाबाट विभिन्न व्यक्ति र स्थानमा पुगेर सहयोग संकलन गर्ने कार्य भईरहेको छ।

ब्लड बैँक स्थापना अभियानमा निरन्तर जुटिरहनु भएका सभापति कार्कीले ब्लड बैँक स्थापनाको लागि भवन निर्माण गर्न लायन्स क्लव पाल्पाले तानसेन–१, भुँसलडाँडामा ९ आना जग्गा सहयोग गरेको तथा भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड ५३ लाख रुपियाँ विनियोजन गरिसकेको समेत जानकारी गराउनु भयो । यस्तै ब्लड बैँकमा आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपियाँ विनियोजन भएको शाखाका उपसभापति भीमसेन कार्कीले बताउनुभयो ।

ब्लड बैँक दीगो रुपमा सञ्चालनका लागि कोष र पूर्वाधार निर्माण गर्न छ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको महामन्त्री केशवराज नेपालले बताउनुभयो । पाल्पाका चार अस्पताल सहित एउटा डायलासिस सेन्टरमा रगत परिपूर्ति गर्न ब्लड बैँक स्थापना अभियान सञ्चालन गरिएको शाखाका सभापति बाबुराम कार्कीले बताउनु भयो ।