पाल्पा, तानसेन ।
तानसेन नगरपालिका वडा नं ११ बन्दीपोखरा पाल्पाले तिलाहार गाई भैसी पालन दुग्ध उत्पादक समुहका २५ जना भैसीपालक किसानलाई जनही ४० हजारका दरले अनुदान रकम हस्तान्तरण गरेको छ ।

उक्त अनुदान रकमको चेक तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले एक औपचारिक कार्यक्रमका वीच किसानलाई हस्तान्तरण गर्नु भएको थियो। चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले व्यवसायलाई थप विस्तार गर्न किसानलाई आग्रह गर्दै भैंसीपालनबाट दूध र दुग्धजन्य परिकारहरू उत्पादन तथा विक्री वितरण गरि आम्दानीको स्रोतमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै उप–प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले वडास्तरीय भैंसी वितरण कार्यक्रमले स्थानीय कृषकहरूलाई दुध तथा दूग्धजन्य उत्पादनतर्फ प्रोत्साहित गर्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताउनु भयो । उहाँले वडास्तरबाट वितरित अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन किसानलाई आग्रह समेत गर्नु भयो। नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले यस्ता कार्यक्रमले कृषकहरूलाई रोजगार सिर्जना गरि आयआर्जनको माध्यमबाट शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सघाउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्त राज शाक्य र वडा नं. १२ का वडाध्यक्ष मेजर सिं केसी लगायतले अनुदान रकमको सही उपयोग गर्न किसानलाई आग्रह गर्नु भयो । वडा नं. ११ का वडाध्यक्ष यादवसिं कार्कीले वडाले आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको जानकारी गराउनु भयो । उहाँले वडामा कृर्षि र पशुपालनको सम्भावना धेरै रहेकाले भैंसी पालौं, दुग्ध विक्री गरौं : कृषिमा लागौं, आत्मनिर्भर बनौं भन्ने नाराका साथ यो वर्ष २५ वटा भैंसीका लागि कृषकको मागका आधारमा ४० हजारका दरले १० लाख अनुदान प्रदान गरिएको बताउनु भयो।

किसानहरुको प्रोत्साहनका लागि तानसेन नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको थियो ।