पाल्पा ।
जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्य सहित पाल्पामा सम्पदा साइकल राइड (हेरिटेज राइड–२०८१) को आयोजना हुने भएको छ ।
‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ यही कार्तिक २३ र २४ गते साइकल यात्रा गर्न लागिएको पाल्पा साइक्लिङ संघले जनाएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने आयोजकले जनाएको छ ।
साइकल यात्राका क्रममा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ ।
पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरि पाल्पा साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जनले स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको जानकारी गराउनु भयो ।
यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताउनु भयो । उहाँले साइकल यात्रामा सहभागी हुन व्यक्तिगत र सामूहिक दुवै तरिकाबाट अनलाइन मार्फत समेत नाम दर्ता गर्न सकिने र प्रति व्यक्ति २ हजार ५ सय शुल्क लाग्ने जानकारी गराउनु भयो ।