पाल्पा । लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना पारित गरेर कार्यान्वयन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण अन्तिम चरणमा रहेकोले मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्विस सरकार र विकास साझेदार संस्थाहरूसँग सहकार्य गरि अघि बढ्ने बताउनु भयो । उहाँले प्रदेश सरकारबाट निर्णय गरेर लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १०९ पालिकामा यो सेवा विस्तार गर्ने योजना रहेको समेत उल्लेख गर्नु भयो ।

स्वीट्जरल्यान्डका राजदुत डानियल मेउल्ली मोन्टेलोनेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा मन्त्री सारुले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकारले बनाएको रणनीतिक योजना कार्यान्वयन गरिने जानकारी दिनु भएको हो ।

हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लाको ४ वटा पालिकामा द्वन्द्व प्रभावितहरुलाई लक्षित गरेर मनोसामाजिक परामर्श र समुदायको समावेशीकरण परियोजना सञ्चालन गरिएको छ। सीएमसी नेपालसँगको साझेदारीमा गएको वर्षसम्म १ हजार ३ सय ८ जना व्यक्तिहरुलाई उपचार र पूनर्स्थापनामा योगदान गरिएको थियो भने १३ जना द्वन्द्वप्रभावित सदस्यलाई मानसिक स्वास्थ्य परामर्श र स्वयंसेवक सेवकका रुपमा तालिम दिईएको थियो ।

