पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गर्नु भएको छ। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा शुभकामना सन्देश दिनु हुदैं मन्त्री सारुले प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नु भएको हो ।

स्वास्थ्यमन्त्री सारुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक रहेको समेत वताउनु भयो । सन्देशमा उहाँले नेपाल जस्तो संक्रामक रोगहरूको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको उल्लेख गर्दै विश्वव्यापी रूपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई संक्रामक रोगको प्रभावकारी उपचारमा चुनौती थपिएको बताउनु भएको छ ।

सन्देशमा सरकारले एक स्वास्थ्य रणनीति अनुरूप बहुपक्षीय संलग्नतामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत् रूपमा स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको समेत उल्लेख छ । स्वास्थ्य मन्त्री सारुले उच्चस्तरीय प्रतिबद्धताका साथ ल्याइएको यो कार्ययोजनाले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिब १२ लाख मानिसहरूको मृत्यु भइरहेको छ भने सन् २०५० सम्ममा वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ । यस्तै सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन पनि गरिएको छ । ‘प्रतिजैविक प्रतिरोधः बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मङ्सिर ९ गतेसम्म नेपालमा पनि बिश्व प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताह २०२४ मनाईएको छ ।
