काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न यही मंसिर ९ गते देखि स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ र विदेशीलाई एक हजार शुल्क लाग्ने भएको छ ।
स्वदेशी विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट हुनेछ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गरेसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।

यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ। धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० रूपैयाँ र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ ।