२ मंसिर, काठमाडौं । कलेजोसम्बन्धी समस्या देखिएका पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा फ्रन्टलाइन अस्पताल काठमाण्डौंमा निधन भएको छ ।
कलेजो सम्बन्धी समस्या देखिएका ढुंगानाले घरमै औषधि उपचार गराइरहनु भएको थियो । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेतिर एक्कासी बेहोस भएपछि ढुंगानालाई अस्पताल लगिएको थियो ।
फ्रन्टलाइन अस्पतालका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेका अनुसार अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । तर ती कुनै पनि अंगहरु नचलेको पाइएपछि १ बजेर ४० मिनेटमा उहाँलाई मृत घोषणा गरिएको थियो ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा शुरु गर्नु भएका ढुंगानाले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान समेत बनाउनु भएको थियो। २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव समेत बन्नु भएका ढुंगाना पत्रकारिता र शिक्षण पेशामा पनि लाग्नु भएको थियो। यस्तै तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन समेत महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।
०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ २०५१ सालसम्म सभामुख बन्नु भएको थियो । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि शान्ति अभियानमा खुलेर लाग्नु भएका ढुंगाना सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता समेत हुनुहुन्थ्यो।
