सिलुवा, पाल्पा ।
मण्डली स्पोट्स क्लब पूर्वखोला–१ सिलुवा पाल्पामा आठौं मण्डली कप भलिबल खेलको बिशेष समारोहका बिच उद्धघाटन भएको छ ।

उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि संंघीय सांसद माननीय नारायण प्रसाद आचार्यले यस्ता खेलबाट ब्यवसायिक खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले पूर्वखोला गाउँपालिकाबाट यस्ता यूवा तथा खेलकुद क्षेत्रमा आर्थिक सहयोग हुनु अन्य क्षेत्रका लागि पनि अनुशरण योग्य काम भएको उल्लेख गर्नु भयो । यस्तै यस गाउँपालिकाबाट बिद्यालयहरुमा स्काउट र तेक्वाण्दो जस्ता शैक्षिक कृयाक्लापहरु संचालन भईरहेकोमा खुशी समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले मण्डली स्पोट्स खेल मैदान ब्यवस्थापनका लागि यस बर्ष प्रदेश सरकारबाट १५ लाख बजेट बिनियोजन भएको जानकारी गराउनु भयो । उहाँले खेल मैदानलाई थप ब्यवस्थित बनाउन बिस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गरी अघि बढ्नु पर्ने भएकोले त्यसको लागि थप बजेट आवश्यक पर्ने बताउनु भयो । साथै उक्त बजेट व्यवस्थापनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, प्रमुख प्रशासकयि अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उद्धघाटन कार्यक्रम क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षता तथा सचिब कृष्ण पंगेनीको संचालनमा भएको थियो । पुरुष तर्फ ८ र महिला तर्फ ४ टिम सहभागी भएको भलिबल प्रतियोगिता कार्तिक २४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांंगितिक प्रस्तुती रहने छ भने स्थानीय कला संस्कृतिहरु समेत प्रस्तुत गरिने क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
