पाल्पा ।
कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको चिच्याएर बर माग्ने सत्यवती बज्यै मेला यस वर्ष यही कार्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
तिनाउ गाउँपालिका–वडा नं. ४ पाल्पामा हुने उक्त मेलाका लागि तीब्रताका साथ तयारी भईरहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला व्यवस्थापनका लागि बुधबार सत्यवती मन्दिर परिसरमा सर्वपक्षीय छलफल समेत सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजनामा भएको छलफलमा ताल तथा मन्दिर व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि यातायातको शहजिकरण लगायतका विषमा छलफल भएको थियो।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी मेला व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आग्रह गर्नु भयो । उहाँले मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपता कायम गरिएको जानकारी गराउनु भयो। त्यसैले सिद्धार्थ राजमार्गदेखि मन्दिरसम्म पुग्न अव २ सय रुपैयाँ भाडा लाग्नेछ ।
गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले मेला व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन सहित सुरक्षा निकायका प्रनिधिहरुसँग छलफल गरी आवश्यक समन्वय गर्ने निर्णय भएको उल्लेख गर्नु भयो। यस्तै मन्दिर परिसरमा विजुली बत्तीको व्यवस्था तथा ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिएको समेत जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको बताउनु भयो। मेला अवधिमा भक्तजन स्वयम्ले समेत सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरजहना नल्याउन समेत आग्रह गर्नुभयो । मेला अवधिमा मदिरा जन्य पदार्थ प्रयोग वा शान्ति सुरक्षा खल्बलिने गतिविधि गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रण लिएर कडा कारबाही गरिने उल्लेख गर्नु भयो ।
यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा धेरै भक्तजनहरुको उपस्थिति हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनु भयो । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वास रही आएको छ ।

परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किवदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा लाग्ने सत्यवती मेलामा हजारौँ भक्तजनहरु वर माग्न सत्यवती तालको मन्दिरमा पुग्ने गर्दछन् ।
वर माग्ने भक्तजनले बाँस, निगालो, साल आदिको लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।
यहाँ परापूर्व कालदेखि नै वर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन वर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको छ ।
