काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकोमा अबदेखि त्यसो गर्नु नपर्ने भएको हो ।
सरकारले गत साता जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्दा तथा विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरण अनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’ सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ (क) बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिइ ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ ।
यो नयाँ व्यवस्था कार्यान्वयनमा आउन भने अझै केही समय लाग्नेछ । नियमावलीको व्यवस्था बमोजिम विद्युतीय माध्यमबाट ग्राहकको परिचयको पहुँचसम्म पुग्न सक्ने अनलाइन प्रणाली विकास गर्न बाँकी नै भएकोले समय लाग्ने भएको हो ।
