बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित शिक्षा तालिम केन्द्र, भैरहवाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
अवलोकनका क्रममा उहाँले तालिम प्रमुख दिवाकर भण्डारीसँग तालिम केन्द्रले प्रदान गरिरहेको तालिम, यसको कक्षाकोठा एवम् समाजमा यसको प्रयोग तथा कार्यान्वयनको अवस्थाका बारेमा जिज्ञासा राख्नु भएको थियो ।
लुम्बिनी प्रदेश भित्र रहेका सबै विद्यालयका शिक्षक, प्रअलाई विविध विषयमा तालिम दिदै आएको उक्त तालिम केन्द्रले आर्थिक अभावका कारण सोचे जस्तो सेवा दिन नसकेको बताउँदै तालिम प्रमुख भण्डारीले स्थानीय तहमा शिक्षाका कर्मचारीहरुलाई कामको चाप बढेको र परिणाम सोचजस्तो आउन नसकेको बताउनु भयो । उहाँले प्रदेश सरकारको भूमिका कम देखिएको समेत जानकारी गराउनु भयो ।

शिक्षा विज्ञ दलबहादुर गुरुङले प्रदेश सरकारबाट जेजति आर्थिक एवम् मानवीय साधन र स्रोत प्राप्त भएपनि त्यसको अधिकतम प्रयोग गर्दै सक्षम, योग्य र तालिम प्राप्त शैक्षिक जनशक्ति उत्पादन गर्न शिक्षा तालिम केन्द्र भैरहवा गतिशील र कर्मशील हुनुपर्ने सुझाउनु भयो ।
उक्त अवसरमा बुटवल कालिका क्याम्पसका सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामी, शैक्षिक व्यक्तित्व युवराज घिमिरे, स्थानीय स्वास्थ्यकर्मी भाष्कर आत्रेय र तालिम केन्द्रका कर्मचारी लगायतको विशेष उपस्थिति रहेको थियो ।