पाल्पा । पूर्वी पाल्पामा विगत ३ दशक देखि सामाजिक सेवा गर्दै आउनु भएका जापानी नागरिक काजुमासा काकिमि (ओके बाजे) लाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएका छ्न ।
समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७ किसानबारी पाल्पामा एक समारोहका विच अभिनन्दन गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । ओकेबाजेको प्रतिमा स्थापना गरि विविध साँस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने ओकेबाजे अभिनन्दन सचिवालय समितिका संयोजक भिम विश्व भट्टराईले जानकारी दिनुभयो ।
कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पामा भएको पत्रकार सम्मेलनमा जापानी नागरिक काजुमासा काकिमिले आफुले पुर्याएको योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूह लगायतका धेरै क्षेत्रमा उहाँको ठूलो सहयोग छ । उहाँले जापान स्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएस लगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ । नेपाल भूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्परा अनुसार २०७९ असोज २३ गते वैदिक परम्परा अनुसार पाल्पाको रामपुरमा उहाँको चौरासी पूजा समेत गरिएको थियो ।

हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्नुहुन्छ । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उहाँको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ ।