काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिबार देखि खुल्ने भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।
यसैवीच मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख शहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।
‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिट समेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’
बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् ।