काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर फर्कनु भएकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
उहाँले जित्नु भएको यो रजत पदक नेपालका लागि ऐतिहासिक हो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।
ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित स्वागत गर्न विमानस्थल पुगेका थिए । साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो । उहाँलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।