मण्डली स्पोर्टस् क्लव पाल्पाको आयोजनामा यही कार्तिक २१ गते देखि २४ गतेसम्म पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवामा आठौं मण्डली कप २०८१ हुने भएको छ ।
पूर्वखोला गाउँपालिकाको सह-आयोजनामा हुने पुरुष तथा महिला भलिबल प्रतियोगितामा विभिन्न क्लवहरु मार्फत जुनसुकै स्थानका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजक मण्डली स्पोर्टस क्लवका अध्यक्ष एव भलिवलका राष्ट्रिय रेफ्री अनन्त प्रसाद श्रेष्ठले बताउनु भयो। उहाँले यो प्रतियोगितामा विभागिय टोली बाहेक अन्य जुनसुकै क्लवहरुले प्रतिस्पर्धा गर्न पाउने र विभागिय क्लवका खेलाडीहरु समेत अन्य क्लव मार्फत प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिनु भयो ।

उक्त भलिबल प्रतियोगितामा भलिवलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ सहित ७ जना रेफ्रीहरुको सहभागिता रहने छ भने प्रतियोगितामा टिम दर्ता निशुल्क हुनेछ । यस्तै सहभागी खेलाडीहरुलाई खान बस्न समेत निशुल्क व्यबस्था गरिएको आयोजकले जनाएको छ ।
आठौं मण्डली कप २०८१ को अवसरमै स्थानीय कला संस्कृतीको प्रस्तुति, स्थानीय कौडा नाच र राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ । यस प्रकारको कार्यक्रमले यस ठाँउको धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्य र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

आयोजका अनुसार पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम हुनेलाई नगद १ लाख ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र द्धितीयलाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र, तृतीयलाई नगद ७० हजार, कप, मेडल र प्रमाणपत्र तथा सान्तवनालाई नगद ३५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । यस्तै महिला भलिबल तर्फ प्रथम हुनेलाई नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र, द्धितीयलाई नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, तृतीयलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र र सान्तवनालाई नगद ५ हजार कप, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको सचिव कृष्ण प्रसाद पंगेनीले बताउनु भयो।