देवीनगर, पाल्पा । समाज उत्थान सहयोग केन्द्र नेपालको २४ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय देवीनगरमा सम्पन्न उक्त अधिवेशनको उद्घाटन पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुन वहादुर थापाले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका थापाले स्वरोजगार र सामाजिक भावना भएका यूवाहरु उत्पादन गर्न समाज उत्थान सहयोग केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले राज्यको हरेक संयन्त्रमा सृजनशिल अनि सकारात्मक सोच भएका यूवाहरुको खाँचो रहेको उल्लेख गर्नु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले स्थानीय पूर्वखोला कृषि तथा पशु विकास परियोजना र समग्र स्थानीय आर्थिक विकासमा स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले स्थानीय साधन स्रोतको पहिचान गरी यसको सफल कार्यान्वयनमा थप भूमिका खेल्न सके समुदायमा यस संस्थाको विशिष्ट पहिचान बन्ने बताउनु भयो ।
वि.स. २०५७ सालमा स्थापना भएको यस संस्थाका पूर्व अध्यक्षहरुले समाज उत्थान सहयोग केन्द्रले आफुहरुको नेतृत्व क्षमतामा विकास गराउनुका साथै समाज परिवर्तनमा दक्ष बनाएको विगत स्मरण गर्नु भयो । उहाँहरुले बिगतको सामाजिक परिचालन, तालिम प्राप्त दक्ष एवं कार्यानुभवले खारिएका र सामाजिक भावना सहितको मानव संशाधनमा पछिल्लो समय खडेरी लाग्दै गएकोले यस्तो अवस्थामा नयाँ पुस्तालाई पनि सँगै जोडेर अघि बढ्न सकेमा संस्थाको दीगोपनामा थप टेवा पुग्ने बताउनु भयो ।

उक्त अधिवेशनले बल बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मथुरा घर्ती, सचिवमा भूवन सिंजाली, सह-सचिवमा सुमन मश्राङ्गी र कोषध्यक्षमा तुलसा वस्याल चयन हुनु भएको छ । यस्तै उमा भट्टराई र रेमी सरा कवर सदस्य पदको लागि चयन हुनु भएको छ ।
अधिवेशनले संस्थाका अध्यक्ष मोहन बहादुर रखालले प्रस्तुत गर्नु भएको संस्थागत प्रतिबेदन, कार्यकारी निर्देशक मेहर सिं थापाले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष बल बहादुर थापाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको थियो । सचिव भुवन सिंजालीले सञ्चालन गर्नु भएको कार्यक्रम अध्यक्ष मोहन बहादुर रखालको अध्यक्षतमा सम्पन्न भएको थियो ।