काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंको लागि ल्याएको खसी च्याङ्ग्राको विक्रि वितरण असोज २० गते आईतबार (आज) बाट गर्ने भएको छ ।
लिमिटेडले दशैंको लागि ल्याएको खसी च्याङ्ग्रा १० रुपैयाँ छुट सहित बिक्री गर्न लागेको हो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यस्तै च्याङ्ग्रा जिउँदोलाई प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो ।

कम्पनीले दशैंमा १ हजार ५०० खसी बोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय खसीच्याङ्ग्रा बेच्ने लक्ष्य राखेको छ ।
मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीका प्रवक्ता अम्बिका पौडेलले जानकारी दिनु भयो।