काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १ गतेबाट लागु हुनेगरी १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनु भयो ।
समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिने भएकोले परिवारको आर्थिक अभावमा बालबालिकालाई मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन यसरी उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले उल्लेख गर्नु भयो । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।