काठमाडौं । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले असोज २४ गते फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।
काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
आरए १७३३ उडान नम्बर रहेको १५८ सिटे न्यारोबडी जहाजबाट बिहान ११ बजे काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । यस उडानमा ३० किलोसम्म लगेज निशुल्क हुने नेवानिले जनाएको छ ।
सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट लिन सकिने प्रबक्ता रमेश पौडेलले बताउनु भयो ।