बुटवल । कालिका मानवज्ञान माविका मेधावि विद्यार्थी दीपेश र दीपिका भट्टराई धादिङ्ग झ्याप्ले खोला पहिरोसंगै अस्ताएका छन् । उनीहरुसंगै आमाको पनि ज्यान गएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि हिँडेका थिए । लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा गरेका दाजु बहिनी दीपेश र दीपिका जुम्ल्याहा हुन् ।
आफैंले अनलाइन फारम भरेर दाजुबहिनी नै अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ मा छनोट भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौं जाँदै थिए ।
बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दिएको विद्यालयका विज्ञान शिक्षक दिपक बन्जाडेले जानकारी दिनु भयो ।
उनीहरू चढेको गाडी शनिबार धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोले पुर्दा १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिका स्थित योगीकुटीमा बस्दै आएको थियो ।
कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए ।
आमा सीता पनि स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।
विद्यालयले दियो शोक विदा
यसैबीच अत्यान्तै मेधावि विद्यार्थी २ जनाको पहिरोको कारण निधन भएपछि आईतबार कालिका मानवज्ञान मावि ले शोक विदा दिएको थियो । बिहान करिब १० बजे मात्रै यो घटनाबारे पुष्टी भएपछि अभिभावकहरूलाई खबर गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनु भयो । कालिका मानवज्ञान मावि देशकै सबैभन्दा बढि विद्यार्थी अध्ययन गर्ने विद्यालय हो । जहाँ ८ हजार भन्दा बढि विद्यार्थी रहेका छन् ।