दाङ । घोराही उपमहानगरपालिका–१५ दाङ स्थित सरस्वती माध्यमिक विद्यालयले बत्ती कात्ने, ब्यूटीपार्लर अन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउने जस्ता सीप विद्यार्थीलाई दिन थालेको छ। जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे।
कक्षा १० मा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती कात्ने, दुनाटपरी र थे्रडिङ गर्ने सीप सिक्न पाउँदा खुसी व्यक्त गर्छिन्। बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्त्वपूर्ण रहेको उनी बताउँछिन्।
परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको उनको भनाइ छ। विद्यालयमा किताबी ज्ञान मात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुन्छ।
बजारबाट निर्माण गरेका बत्ती, दुनाटपरी प्रयोग गर्ने भएको हुँदा अब आफैँले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउने कक्षा ८ मा अध्ययनरत विद्यार्थी सङ्गीता शर्मा बताउँछिन्। यस्तै थे्रडिङ गर्ने सीप पनि अहिले सिकियो भने भोलिका दिनमा व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने उनको धारणा छ।
विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रवार विभिन्न सीपयुक्त कार्यमा सहभागी हुँदै आएको उनीहरू बताउँछन्।
कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी दुर्गा रोका आफूलाई मन पर्ने ब्यूटीसिएन भएको हुँदा अहिले थ्रेडिङ गर्ने सीप विद्यालयमै सिक्दै आएको र धेरै कुरा आफूले सिकिसकेको उनको भनाइ छ। विद्यार्थीलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताए।
विसं २०८१ मा विद्यालयको शैक्षिक क्यालेण्डरमै समावेश गरेर प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ। जसलाई ९बुक फ्रिडे०का रूपमा लिइएको छ। विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा यो अभियान सुरु गरेको उनको भनाइ छ। विद्यार्थी पनि निकै उत्साहित भएर सहभागी हुने गरेका छन्। सीप भएका शिक्षक र शिक्षिकाले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै सीप सिकाउने गरेका छन्।
पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नुपर्छ, सीप सिक्नुपर्छ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक पौडेल बताउँछन्। त्यस्तै अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको उनले बताए।
विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ। घोराही उपमहानगरापलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एक शुक्रबार नगरभित्रका विद्यालयमा बुक फ्रिडे बनाई विद्यार्थीलाई सीप सिकाउन आग्रह गरेअनुसार सरस्वती माविले त्यसलाई कार्यान्वयनमा ल्याएको हो।