रामपुर, पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा पूर्वी पाल्पाको रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्नु हुदै लुम्बिनी प्रदेश सरकार अर्थ, उद्योग, पर्यटन समितिका सभापति समेत रहनुभएका श्रेष्ठले राजश्व कम उठेको समयमा व्यवसायीहरु दोहोरो करको मारमा परेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै उद्योग व्यवसायलाई प्रवर्धन गर्न प्रदेशले औद्योगिक व्यवसाय प्रवर्धन ऐन ल्याएको जानकारी गराउनु भयो ।

यस्तै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राज्यको कर नीति र अनुगमन नीति परिवर्तन गर्नु पर्ने बताउदै दोहोरो कर निति हटाउनु पर्नेमा जोड दिनु भयो । उहाँले उद्योगी तथा व्यवसायीको हकहितको लागि उद्योग वाणिज्य संघ निरन्तर रुपमा लाग्दै आएको पनि बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा करका विभिन्न विषयमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्दै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलले यस वर्ष बजेट कटौती हुँदा उद्योग विकासका कार्यक्रमहरु सञ्चालन गर्न समस्या भएको उल्लेख गर्नु भयो । उहाँले पछिल्लो समय जिल्लामा उद्योग दर्ता भन्दा धेरै खारेज गर्नेको संख्या बढेको पनि बताउनुभयो । अधिकृत पौडेलले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा र उद्योग दर्ताको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

उधमशिलताको सँस्कृति : राष्ट्रको समृद्धि भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा रामपुर इट्टा उद्योगका संचालक रामचन्द्र ढंगाना, कालिगण्डकी बेकरी उद्योगका संचालक गणेश बहादुर क्षेत्री, पशुपालक विनोद श्रेष्ठ र कृषक नारायण प्रसाद भट्टराई लगायतले कर र उद्योग दर्ता लगायतका विषयमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेका छन् । नेपाल सरकारको २०७१ चैत्र २० गतेको निर्णय अनुसार नेपालमा २०७२ साल देखि हरेक वर्ष मंसिर ९ लाई राष्ट्रिय उद्योग दिवसको रुपमा मनाईदै आएको छ । यसै सन्दर्भमा घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा आइतबार अन्तरक्रिया कार्यक्रम भएको हो ।
