पाल्पा । माथागढी गाउँपालिकाले पालिका भित्रका वित्तिय संंघसंस्थाहरुसँग आर्थिक नीति तथा कानुन, विभिन्न वित्तिय समस्या र समाधानका उपायहरु तथा ऋण लगानी लगायतका विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले ऋण लगानी, असुली, धितो मुल्यांकन, ऋणको उपयोगिता जस्ता विषयमा समस्या देखिएको बताउनुभयो । यहाँले गाउँपालिकाका वित्तिय संस्थाहरु पालिकामा सुचिकृत गरि विविध विषयमा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले ऋण लगानी गर्दा लिईने ब्याज र सदस्यहरुले बचत गरेवापतको ब्याज राष्ट्र बैंकले तोकेबमोजिम नभएको गुनासो आएको बताउदै स्थानीय तह र वित्तिय संस्थाहरु मिलेर गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडा झडेवाका वडाध्यक्ष शंकर दर्लामीले स्थानीय तहको नीति तथा कार्यक्रममा समस्या नपर्ने गरि वित्तिय संस्थाहरुले कारोबार गर्नुपर्ने बताउनुभयो । यस्तै ३ नं. कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले वित्तिय संस्थाहरुले गाउँपालिकाका नागरिकको आर्थिक समृद्धि हुने विषयमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न वित्तिय संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नित्यानन्द खनालले ऋण लगानी गरिसकेपछि त्यसको सदुपयोग भए नभएको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका लेखा अधिकृत सन्तोष दाहालले उपभोक्ता समितिले खाता बन्द गर्दा प्रक्रिया झण्झटिलो रहेको गुनासो आएको बताउदै सहुलियत पुर्ण कर्जा तथा कृषि र पशुपालन कर्जामा सोचे जस्तो कर्जा प्रवहा हुन नसकेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा एनएमबी लघुवित्त, मिर्मिरे लघुवित्त, नेपाल ईन्भेष्टमेण्ट बैंक, सुर्योदय वोमी लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड लगाएतका संस्थाका प्रतिनिधिहरुले गाउँपालिकामा दर्ता नगरिएको तर वडा कार्यालयमा दर्ता गरि व्यवसाय कर बुझाएको बताएका थिए । उनीहरुले ऋण लगानी गरि असुलीमा सामान्य समस्या रहेको, उपभोक्ता समितिले खाता खोल्दा वडा कार्यालय मार्फत समन्वय गर्न जरुरी रहेको तथा वित्तिय साक्षरता कक्षा सञ्चालन गर्न पालिकाले सहजीकरण गर्नुपर्ने लगाएतका विषयमा जोड दिएका थिए ।
वित्तिय संस्थाका प्रतिनिधिहरुले उपभोक्ता समितिको नाम राख्दा लामो राख्न नहुने, योजनाको नाम माईन्यूट, छाप र वडा कार्यालयको सिफारिसमा एकरुपता ल्याउनुपर्ने, उपभोक्ता समितिका पदाधिकारीको नाम नागरिकता अनुसार नै सिफारिस हुनुपर्ने लगायतका सुझावहरु समेत व्यक्त गरेका थिए।

यसै वीच मााथागढी गाउँपालिकाको वडा नं. ३ मा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । करदाता कार्यालय पाल्पाको समन्वय र माथागढी गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा करको दायरा र यसका सिद्धान्तहरु तथा करको महत्व एवं करदाताको कर्तव्य र जिम्मेवारी लगायतको बारेमा जानकारी गराईएको थियो ।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका उपाध्यक्ष तथा राजश्व परामर्स समितिका संयोजकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।