काठमाडौं । बडादशैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेको बेला लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
दशैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनु भयो ।

दशैँका लागि काठमाडौं उपत्यका छाड्नेहरु बढेसँगै यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण पनि सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालकहरु बताउँछन् ।
बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दशैँको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएका छन् । दशैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाई यात्रा गर्न बाध्य भएका छन् ।