काठमाण्डौं । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरिदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने छठ पर्वमा भगवान सूर्यको पूजा आराधना गर्ने गरिन्छ ।

काठमाडौं महानगरपालिकाका अनुसार छठका लागि काठमाडौँ उपत्यकाका कमलपोखरी, गौरीघाट, वंशीघाट, धौखेल खोला, कुमारी क्लब, भुवनेश्वरी मन्दिर, बालाजु बाइसधारा र कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा पनि श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरूमा समेत झकिझकाउ पारि पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुने गर्दछन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर समेत छठ पूजा गर्ने परम्परा छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय राजधानीसँगै पहाडी र हिमाली क्षेत्रका समुदायले समेत छठ मनाउँदा सामाजिक सदभाव र एकता कायम भएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम रहेको छ । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकाले त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

