काठमाडौं। केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उहाँले जानकारी दिनु भयो।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताउनु भयो।
यसैवीच गृह मन्त्रालयले असोज १० देखि १२को अति भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ।
८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो। कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ।