काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागी भई सोमबार अपराह्न स्वदेश फर्किनु भएको छ ।
महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानु भएको प्रधानमन्त्री ओली सोमबार अपराह्न काठमाडौं फर्किनु भएको हो ।
उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत उच्च पदस्थ अधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नु भएको थियो। महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भएको थियो।
न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनु भएको थियो।