तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–६ को माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले तीन वटा विषयको निःशुल्क रुपमा प्राविधिक शिक्षा दिने भएको छ । विद्यालयले सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागेको हो ।
सूचना प्रविधिमा दुई वटा कोटा र अन्य दुई कार्यक्रमका लागि ३० वटा कोटा रहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी गराउनु भयो । उहाँले उक्त प्राविधिक शिक्षाका लागि विद्यार्थी छनोट गर्न सूचना समेत प्रकाशित गरि सकेको बताउनु भयो ।
प्रधानाध्यापक पौडेलले स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका बताउँदै एसइई दिएर अनुत्तीर्ण भएकाहरुले समेत उक्त कक्षा लिन पाउने उल्लेख गर्नु भयो । साथै विद्यार्थीलाई प्रतिदिन एक सयका दरले छात्रवृत्ति, पोशाक, दुई लाखसम्मको दुर्घटना बीमा उपलब्ध हुने जानकारी दिनु भयो।
प्रधानाध्यापक पौडेलका अनुसार यी कक्षा साढे तीन महिना विद्यालयमा सञ्चालन हुने र बाँकी सम्बन्धित कम्पनीमा प्रयोगात्मक परीक्षण हुनेछ । सातामा पाँच दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने भन्दै यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग पुर्याउने विश्वास लिइएको समेत उल्लेख गर्नु भयो।