काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउदै हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवम् रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य भएको समेत उल्लेख गर्नु भयो।
मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उहाँको भनाइ थियो । “साहित्यको यो महत्तालाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्त्वपूर्ण प्राज्ञिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्सवमा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।